म श्रीमान्भन्दा पाँच वर्ष जेठी छु । मलाई उहाँलाई भन्दा बढी यौन उत्तेजना हुन्छ । उत्तेजना कम गर्ने कुनै उपचार छ कि ?

४९७३

जेठी भएर के फरक पर्ला ?

तपाईंले आफू श्रीमान्भन्दा ५ वर्षको जेठी भएको कुरा उल्लेख गर्नुभएको छ, तर तपाईहरूको उमेरका सम्बन्धमा केही भन्नुभएको छैन । श्रीमान् १६ वर्ष र तपाई २१ वर्षको अथवा श्रीमान् २८ वर्ष र तपाईं ३३ वर्षको भएको स्थितिमा उमेरको फरकको अर्कै अर्थ हुन सक्छ । उमेरका कारणले हुने शारीरिक तथा मानसिक परिपक्वताको कुरा एकातिर हुन्छ भने अर्कातिर वृत्ति विकासको कुरा पनि जोडिएर आउँछ । बढी उमेरका महिलाको पेसागत स्तरमा श्रीमान्को भन्दा निकै फरक छ भने त्यसको पनि असर पर्न सक्छ, तर आपसी समझदारी छ भने वयस्क उमेरमा यसरी श्रीमती बढी उमेरको हुँदा पनि सुखी यौनजीवन बिताउन सकिन्छ । त्यसैले यो विषयमा अनावश्यक चिन्ता गर्नु आवश्यक छैन । समस्या के हो ?

विवाहित जीवनमा यौन आनन्द लिन श्रीमान्सँग यौनसम्पर्क राख्नु एक अपेक्षित कार्य हो । धेरैका लागि श्रीमान्–श्रीमतीका बीच यौनसम्पर्क राख्दा नै यौनेच्छा पूरा गर्न सकिने स्थिति हुन्छ, तर केहीमा श्रीमान् वा श्रीमतीको यौनेच्छामा धेरै नै अन्तर हुन सक्छ । थोरै मात्र अन्तर हुँदा खासै असर पर्ने स्थिति आउन दिनु हुँदैन । यीमध्ये कुनै एकमा अत्यधिक बढी वा अत्यधिक कम भए तालमेल मिल्न केही असजिलो हुन्छ ।

तपार्इंले बढी यौन उत्तेजना छ त भन्नुभएको छ तर त्यसले के–कस्तो समस्या ल्याएको छ उल्लेख गर्नुभएको छैन । तपाईंले श्रीमान्लाई दबाब दिनुभएकाले वैवाहिक जीवनमै असजिलो उत्पन्न भैसकेको वा हुने स्थिति आएको छ कि छैन भन्ने कुरा पनि थाहा भएन । अर्कातिर तपाईंले यौनेच्छा शान्त पार्न नपाएको स्थिति मात्र पनि हुन सक्छ । श्रीमान्ले सामान्य रूपमा यौनसम्पर्क राख्दा तपार्इंले चरमसुख नपाएको स्थिति मात्र पनि हुन सक्छ । तपाइंलाई थाहै होला, पुरुष माथि र महिला उत्तानो परेर गरिने लिङ्ग–योनि मैथुनमा भगांकुरको घर्षण नहुने भएकाले महिलाले चरमसुख प्राप्त गर्न सजिलो हुँदैन । यसका लागि पर्याप्त पाक्क्रीडा गर्नुपर्छ, ताकि महिलाले पनि यौन चरमसुख प्राप्त गर्न सकून् । यदि तपाईंमा साँच्चिकै श्रीमान्भन्दा बढी यौनेच्छा छ भने त्यसलाई शान्त पार्ने अनेक उपाय छन् ।

उत्तेजना कसरी शान्त पार्ने ?

तपाईंलाई आफूमा बढी यौन उत्तेजना छ जस्तो लाग्छ भने श्रीमान्सँगको यौनसम्पर्कबाहेक हस्तमैथुन गरेर पनि यौनेच्छा शान्त पार्न सक्नुहुन्छ ।

महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ । योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन् । जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, घाँटी, काखी आदि पनि यौन संवेदनशील हुन सक्छन् ।

पुरुषभन्दा महिलाहरूले गर्ने हस्तमैथुनमा बढी विविधता हुन्छ । महिलाहरूको हकमा विभिन्न अङ्गलाई प्रयोग गरेर हस्तमैथुन गर्न सकिन्छ । हस्तमैथुनका क्रममा यौन परिकल्पना एउटा महत्त्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहे अनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द अझ थपिन्छ । यहाँ तपाईंले श्रीमान्लाई आफ्नो यौन परिकल्पनामा चाहेअनुरूप ल्याउन सक्नुहुन्छ । अब हस्तमैथुन गर्ने उपायका सम्बन्धमा चर्चा गरौं ।

भगांकुर चलाउनु : भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिलाहरू चरमसुखमा पुग्ने सबैभन्दा महत्त्वपूर्ण क्रियाकलाप हो । यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा कुनै वस्तुले माथिबाट थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । योनिमा केही पसाउनु : योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वभाविक रूपमै हुन्छ । यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।

यौन प्रसाधनको प्रयोग: भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक हुन्छन् ।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएकाले पनि यसलाई कैयौं महिलाले मन पराएका पनि छन् । हस्तमैथुन स्वाभाविक प्रक्रिया हो, त्यसैले यसले हानि गर्दैन । विवाहित व्यक्तिले हस्तमैथुन गर्नु हुँदैन भन्ने पनि छैन ।

अन्तमा, मलाई तपाईले आफ्नो यौन उत्तेजना नै कम गर्न उपचार गराउनेतर्फ लाग्नुपर्छ भन्ने लाग्दैन । शारीरिक परिश्रम हुने कार्य वा कुनै व्यायाम गर्न सके केही सहयोग होला ।